जातीय विभेदको सकसमा देश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
5 Min Read
Aa

काठमाण्डौ – करिब ६ वर्ष अघि म नवलपरासीको एउटा सामुदायिक रेडियोमा काम गर्थे । सँगै काम गर्ने एक साथीको घर रेडियो स्टेशन नजिकै पर्थ्यो । उनी र म धेरै मिल्थ्यौं ।

उनी आफन्तको घरमा बस्थिन् । एकदिन उनी बस्ने घरमा काम पर्‍यो । मलाई पनि जाउँ भनेपछि सहजै गएँ । गर्मी मौसम थियो । मध्याह्नको गर्मीमा मलाई एकदमै प्यास लागिरहेको थियो । मैले पानीको कुरा साथीले फ्रिज खोलेर खान भनिन् । मैलै पनि फिज्रबाट पानी निकाले खाइहालें ।

उनको काम सकिएपछि हामी रेडियोमा फर्कियौं र साँझ फेरी आ-आफ्नो घरतिर लाग्यौं । भोलिपल्ट रेडियो पुग्दा मेरो प्यारी साथीको अनुहार अरुबेलाभन्दा भिन्न पाएँ । के भयो भनेर सोध्दा उनले टाउको दुखेको बताइन् । हामी साविकजस्तै आ-आफ्नो काममा व्यस्त भयौं ।

अर्को दिन मैले थाह पाएँ- अघिल्लो दिन उनले घरमा थप्पड पाएकी रहिछन् । साथी कुटिनुको कारण म रहेछु । त्यो थाहा पाउँदा मेरो मुटुलाई ढुङ्गाले थिचेजस्तो भयो ।

उनको आफन्त समाजसेवीको रुपमा चिनिन्थिन्, अहिले पनि उनले परिचय कायम राखेकी छन् । हामीले काम गर्ने रेडियोको सञ्चालक समितिमा पनि थिइन् उनी । नियमितजसो भेट हुन्थ्यो । त्यस्तो बेला ‘के छ सम्झना, पत्रकारितामा तिमीले राम्रो गर्न सक्छौ, नछोड है’ भन्दै उत्साहित पनि पार्थिन् ।

तिनै समाजसेवीले ‘बाहुनको भान्सामा कामीलाई पसाएर मेरो घर अशुद्ध पारिस्’ भन्दै मेरो साथीलाई कुटिछन् । ती महिला अहिले पनि बेलाबेला जातीय भेदभावविरुद्धको अभियानमा लागेकी देखिन्छन् ।

त्यो घटनाले मलाई धेरै दिनसम्म स्तब्ध बनाइरह्यो । मेरा लागि खासगरेर गैदलित साथीहरूको घर सम्झदै आतंकित हुने परिस्थिति सिर्जना भयो । त्यसपछिका दिनमा दलित हुनुको हिन्नताबोध बढेर गयो ।

शासन व्यवस्था, संविधान, ऐन-कानुन फेरिए । तर, जातीय उचनीचलाई लिएर आर्थिक, शैक्षिक, राजनीति सबै हिसाबले सबलहरूकै दिमाग फेरिएन । नेता, मन्त्री नै जातिवादीको पक्षपोषण गर्दै हिँडेको देखिन्छ
सुनचाँदीको काम गर्ने बाबाले मेरो नाक छेडिदिनु भएन । नेवारबाहेक प्रायः सबै समुदायमा नाक छेड्ने चलन रहेछ । अहिले मलाई ‘तिमी नेवार हो ?’ भनेर सोध्ने धेरै हुन्छन् । ‘हैन, बिक’भन्दा अनुहारको भाव बदल्नेहरू बाक्लै हुन्छन् । तीमध्ये कतिपयले ‘दलित जस्तो देखिन्नौ त’ भन्छन् । त्यस्तो बेला मैले ‘दलितको अनुहार कस्तो हुन्छ ?’ भनेर सोध्ने गरेकी छु ।

मेरो गाँउमा धेरैपछि मात्र निजी धाराको चलन आयो । पहिले सार्वजनिक धारा हुँदा मेरी आमा र हजुरआमा गैरदलितहरूले पानी भरेपछि मात्र आफू भर्नुहुन्थ्यो । पानीको छोएको निउमा पटक-पटक झगडा पनि हुन्थ्यो । कति गैरदलितहरू रातिनै पानी ओसार्थे ।

गाउँमा अहिले सबैको घरमा धारो जोडिएको छ, तर जातीय भेदको भाव घटेको छैन । गैरदलितको विवाहलगायत शुभकार्यमा हाम्रो समुदायलाई निम्तो नै गर्दैनन् । अघिपछि मिल्ने छिमिकीहरू कुनै कार्जे परेपछि भिन्न व्यवहार देखाउन थाल्छन् ।

मेरो बाआमाले ब्राम्हण समुदायका एकजना अंकलसँग जग्गा किनेर राजमार्ग छेउमा घर बनाउनु भयो । त्यतिबेला म किशोरावस्थामा प्रवेश गर्दै थिएँ । मालपोत कार्यालय जानुअघि ती अंकलले ‘हरिकला बहिनी, अहिलेलाई यो कुरा एकदमै गोप्य राख्नु नत्र बाहुनहरूले मलाई काँचै खान्छन्’ भनेको म कहिल्यै बिर्सिन्न ।

अंकलले किन त्यस्तो भनेको भनेर ममीलाई सोध्दा ‘ब्राम्हणको बीचमा दलितलाई जग्गा किन्न दिन्नन्, त्यसैले गोप्य राख्न भनेका’ भन्नुभयो । हामीले जग्गा किनेको थाहा पाएपछि दाजुभाइले ती अंकललाई केरकार गरेछन् ।

जिल्ला सदरमुकाम नजिकै राजमार्गमा घरजग्गा भएकाहरूमा पनि जातीय विभेद गलत हो भन्ने चेतना पलाउन सकेको छैन ।

मेरो दिदीले सरकारी विद्यालयमा पढाउन थालेको एक दशक काटिसक्यो । उनले आफ्ना वर्तमान वा पूर्वछात्रछात्राको बिहे हुँदा जातीय विभेद सहन गर्नुपरेको छ । विद्यालयका सबै स्टाफलाई बिहेमा निम्ताउँदा धेरैपटक उनलाई छुटाइयो ।

अहिले म काठमाडौं बस्छु । घरबेटी दलित समुदायकै भएकाले वासमा जातीय भेदभाव खेप्न परेको छैन, तर राजधानीमा पनि कोठा बाहिर सबैतिर त्यो अवस्था छैन ।

हरेक वर्ष जस्तै यो वर्ष पनि २१ जेठमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाइँदै छ । यो दिवस मनाउन थालिएको १६ वर्ष भयो । यो अवधिमा पनि नेपालमा दलित समुदायले अकल्पनीय विभेद सहनुपरेको छ ।

परिवर्तनका लागि देशमा जनआन्दोलन मात्र नभइ सशस्त्र संघर्षसमेत भए । शासन व्यवस्था, संविधान, ऐन-कानुन फेरिए । तर, जातीय उचनीचलाई लिएर आर्थिक, शैक्षिक, राजनीति सबै हिसाबले सबलहरूकै दिमाग फेरिएन । नेता, मन्त्री नै जातिवादीको पक्षपोषण गर्दै हिँडेको देखिन्छ ।

नेपाल देशको १४ प्रतिशत नागरिकले आज पनि नयाँ-नयाँ भेरियन्टका जातिवादीहरूको हमला खेप्न परिरहेको छ । दलित भएकै कारण मर्नु, मारिनु पर्ने बर्बर अवस्था कायम छ । यस्तो सकसमा देश कसरी स्वस्थ भएर अगाडि बढ्न सक्छ ?

प्रतिक्रिया दिनुहोस्