मोदी, मार्क्स, बीपी र बुद्ध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
17 Min Read
Aa

नेपालले बुद्धलाई ‘पैसा कमाउने हतियार’ होइन, ‘जीवन बनाउने अमृत’ को रूपमा ग्रहण गर्न, सोही अनुसारको चिन्तन र योजनामा काम गर्न सक्नुपर्छ ।

आज बुद्ध पूर्णिमा । नेपालीका लागि त यो दिन विशेष नै भइहाल्यो । यसपालि दुईवटा कारणले अझ विशेष हुने भएको छ । पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजै लुम्बिनी भ्रमणमा आउँदैछन् । दोस्रो, यही दिन लुम्बिनीमा नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन हुँदैछ । यस अर्थमा यसपालिको बुद्ध पूर्णिमालाई विशेष मान्न सकिन्छ ।

राजनीतिकर्मीका तीर्थयात्राका आ–आफ्ना प्रयोजन हुन्छन् । यस्ता भ्रमणभित्र राजनीतिक, कूटनीतिक र सांस्कृतिक प्रयोजन छिपेको हुन्छ । मोदीको लुम्बिनी तीर्थाटनका पनि यस्तै छद्म उद्देश्य हुन सक्छन् । जे भए पनि मोदीको लुम्बिनी भ्रमण नेपाल र नेपालीका लागि विशेष महत्वको घटना हो ।

यसले बुद्ध जन्मभूमिका सम्बन्धमा संसारमा रहेको भ्रम कम भएर जाने विश्वास गर्न सकिन्छ । दुई देशबीच बौद्ध पर्यटन तथा बौद्ध ज्ञान परम्परा संरक्षण र विकासका लागि साझा योजना निर्माण गर्ने अवसर बन्न सक्छ । अर्काेतिर लुम्बिनीमा विमानस्थल बन्दा बुद्धभूमि मात्र होइन, देशकै ख्याति बढेर जानेछ ।

नेपालले यो दिनलाई एउटा अवसरको रूपमा उपयोग गर्न सक्नुपर्छ । बुद्ध जन्मभूमिको विषय केवल पर्यटन वा ‘आर्थिक वृद्धि’ को योजनामै सीमित हुनुहुँदैन । नेपालले बुद्धलाई ‘पैसा कमाउने हतियार’ होइन, ‘जीवन बनाउने अमृत’ को रूपमा ग्रहण गर्न सक्नुपर्छ । सोही अनुसारको चिन्तन र योजनामा काम गर्न सक्नुपर्छ ।

मोदी र बुद्ध

गौतम बुद्धलाई मोदीसँग तुलना गर्न मिल्दैन । मोदी राजनीतिकर्मी हुन् । बुद्ध सत्यको खोजको क्रममा ‘स्वयं–सत्य’ बनेका व्यक्ति हुन् । तर मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा बुद्धभूमि भ्रमण गर्दैछन् । यही कारण यहाँ बुद्धसँग मोदीको चर्चा जोड्नु परेको हो ।

मोदीले सन् २०१४ मा काठमाडौं आउँदा नै जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने घोषणा गरेका थिए । त्यो बेला नेपालीमाझ उनी लोकप्रिय पनि भएका थिए । तर त्यसपछिको नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रह्यो ।

सन् २०१५ मा संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि नेपालले भारतीय नाकाबन्दीको सामना गर्नु पर्‍यो । यसले मोदीप्रति नेपालीमाझ बनेको सकारात्मक धारणा कमजोर भयो ।

सन् २०१७ मा नेपालमा संसदीय चुनाव सम्पन्न भयो । यसपछि राजनीतिक शक्ति–सन्तुलन बदलियो । एमाले र माओवादीले पार्टी एकता गरेर नेकपा बनाए । केपी ओलीको नेतृत्वमा तत्कालीन नेकपाको बहुमतको सरकार बन्यो ।

प्रम केपी ओली सुरुवातमा भारतप्रति निकै कडा भएर प्रस्तुत भए । चीनसँग निकट सम्बन्ध बनाउने कुरा गरे । तर पछिल्लो समय ओली स्वयं नरम भएर भारतको भ्रमणमा गएपछि अवस्था केही सहज भयो ।

सन् २०१८ मा मोदी दुईपल्ट नेपाल आए । पहिलो पल्ट मे महिनामा मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरे । अगस्टमा भएको बिमस्टेक बैठकमा पनि मोदी नेपाल आए । तर उनको पूर्व घोषित लुम्बिनी भ्रमण अधुरो नै रह्यो ।

यी दुवै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा केही सुधार आएको ठानियो । तरसँगै नेपालमा चिनियाँ सक्रियता बढेको पनि स्पष्ट देखियो । चिनियाँ राष्ट्रपतिले प्राथमिकता दिएर नेपाल भ्रमण गरे । चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन नेकपालाई प्रशिक्षण दिन थाल्यो । नेकपाको सरकारले उत्तरतिरका नाका खोल्ने कुरा गर्‍यो ।

समग्र घटनाक्रमले नेपालभित्र भारतीय पकड कमजोर हुँदै गएको देखायो । यही कारण नेपाल नीतिमा मोदी फेल भएको भनेर उनका आलोचकले प्रशस्त आलोचना गरे । पछिल्लो समय एमसीसी प्रकरणमा पनि अमेरिका र चीन आमनेसामने भएर देखा पर्दा भारतीय भूमिका ओझेलमा परे जस्तै देखियो ।

आज नेकपाको सरकार ढलिसकेको छ । नेकपा तीन टुक्रा भएको छ । नेकपाकै दुई टुक्रासहित नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन भइसकेको छ । प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरिसकेका छन् । यद्यपि नेपालसँग मोदीको सम्बन्ध चित्तबुझ्दो पाराले स्वस्थ भइसकेको छैन ।

जतिबेला मोदीले नेपालमा नाकाबन्दी लगाए, त्यो बेला उनी भारतको केन्द्रीय सत्ताका लागि नयाँ थिए । सायद अहिले मोदीलाई त्यो बेला आफूबाट गल्ती भएको बोध भएको हुन सक्छ । त्यसैले, उनी विगतमा भएको गल्ती सच्याउन चाहन्छन् ।

नेपाली राजनीतिमा भारतीय प्रभाव बलियो बनाउन चाहन्छन् । नेपालमा बढ्दो चिनियाँ सक्रियतालाई ‘काउन्टर’ दिन चाहन्छन् । यसैका लागि उनी पटक–पटक तीर्थाटन कूटनीति प्रयोग गर्दैछन् ।

यो बाहेक बुद्ध विरासत भारत र नेपाल दुवैतिर बाँडिएको छ । भारतमै पनि बौद्धमार्गीहरूको संख्या ठूलो छ । आफ्नो लुम्बिनी तीर्थाटनबाट मोदी बौद्ध विरासत भारतको पनि हो भनेर देखाउन चाहन्छन् ।

भारतका बौद्धमार्गीहरूको ध्यान खिच्न चाहन्छन् । आफू हिन्दुवादी भए पनि धार्मिक रूपमा सहिष्णु रहेको जनाउ दिन चाहन्छन् । हिन्दुवादी मोदीको बुद्धभूमि भ्रमणको उद्देश्य सायद यति नै हो ।

मोदीको मन

यो जगजाहेर तथ्य हो कि लुम्बिनीप्रति भारत पूरै सकारात्मक छैन । गौतम बुद्ध विमानस्थलप्रतिको उसको पूर्वाग्रही व्यवहारले नै यो तथ्य स्पष्ट देखाउँछ । सिमानाको नजिकमा भएको कारण गौतमबुद्ध विमानस्थलमा अवतरण गर्दा वा उड्दा विमानहरूले केही भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ ।

तर भारतले अहिलेसम्म गौतमबुद्ध विमानस्थलमा आउने–जाने विमानको लागि भारतीय आकाश प्रयोगको अनुमति दिन मानेको छैन । जबकि यो अन्तर्राष्ट्रिय प्रचलनकै कुरा हो । यदि भारतले यस्तो अनुमति दिएन भने विमानहरूले घुमाउरो बाटो तय गर्नुपर्ने हुन्छ । यसबाट यात्रा खर्चिलो हुन जान्छ ।

लुम्बिनीप्रति भारतीय पूर्वाग्रहको कारण यो हुनसक्छ कि लुम्बिनीबाट ९६ किमी टाढा कुशीनगरमा भारतले अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ । कुशीनगर बुद्धको महापरिनिर्वाण स्थल हो । भारत बौद्ध पर्यटकहरूलाई कुशीनगरतर्फ आकर्षित गर्न चाहन्छ ।

लुम्बिनीको विमानस्थलले कुशीनगरको आफ्नो परियोजनालाई फिका बनाइदिन्छ कि भन्ने भारतलाई परेको छ । सायद यही कारण भारत गौतमबुद्ध विमानस्थलप्रति सकारात्मक हुनसकिरहेको छैन । यस्तो परिस्थितिमा विमानस्थलको समुद्घाटनकै दिन मोदी लुम्बिनी आउनु सकारात्मक कुरा हो । बुद्धप्रति श्रद्धा देखाउने मोदीले यस विषयमा के निर्णय देलान् ? हेर्न बाँकी छ ।

मार्क्स र बुद्ध

गौतम बुद्धलाई कार्ल मार्क्ससँग पनि तुलना गर्न मिल्दैन । यी दुई व्यक्तित्वको चिन्तन र कर्मको पाराडाइम नै अलग हो । तर नेपाल र भारतका कम्युनिस्टहरू अनेक तरिकाले माक्र्स र बुद्धबीच वैचारिक साइनो जोड्ने प्रयास गरिरहन्छन् ।

हरेक वर्ष मनाइने बुद्धजयन्ती समारोहमा कम्युनिस्ट पनि संलग्न हुन्छन् । माओवादी नेता प्रचण्ड पछिल्लो समय बुद्धका प्रशंसक बनेका छन् । आफ्नो बैठक कक्षमा उनले बुद्धको प्रतिमालाई प्राथमिकता दिएर सजाएका छन् । यस्ता कम्युनिस्ट नेता अरू पनि छन्, जो बुद्ध र मार्क्सलाई जोड्नुपर्दछ भन्दछन् । यही कारण यहाँ बुद्ध र मार्क्सलाई जोडेर चर्चा गर्नुपरेको हो ।

कम्युनिस्ट नेताहरूको पहिलो दलिल यो छ कि, मार्क्स र बुद्ध दुवै द्वन्द्ववादी हुन् । तर यो यिनीहरूको मीठो भ्रम हो । कार्ल मार्क्सको द्वन्द्ववाद एरिस्टोटलियन ‘संघर्षवादी’ मान्यताको उपज हो । अर्कोतिर यो वैज्ञानिक लाप्लास (१७४९–१८२७) को ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्तकै अर्को रूप हो ।

लाप्लास र मार्क्स दुवैले हरेक घटनाका पछाडि कारण हुन्छ र त्यो सम्बन्धित पदार्थमै हुन्छ, जसलाई वस्तुगत अवलोकनबाट जान्न, तर्क र गणितमा अभिव्यक्त गर्न सकिन्छ भनेका थिए । उनीहरूको यो नियम ‘पदार्थ नै शाश्वत सत्य हो’ भन्ने बुझाइमा आधारित छ ।

बुद्धले पनि कार्य–कारण सम्बन्धको चर्चा गरेका छन् । बुद्ध पनि संसार र जीवन कार्य–कारण सम्बन्धको चक्र (भवचक्र) हो भन्दछन् । उनले कार्य–कारण सम्बन्धको नियमलाई ‘प्रतित्यसमुत्पाद’ नाम दिएका छन् ।

जुन सुनिश्चित तार्किक पद्धतिमा खडा गरिएको छ । तर बुद्ध पदार्थलाई शाश्वत मान्दैनन् । बुद्ध ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त भन्दा धेरै गहिरो र विपरित कुरा गर्दछन् । उनको कार्य–कारण सम्बन्धले स्थूल पदार्थलाई अतिक्रमण गर्दछ ।

बुद्ध सूक्ष्म तरंग जगतका कार्य–कारणका कुरा गर्दछन् । यसैभित्र पूर्वजन्म र पुनर्जन्मको चक्र आउँछ । बुद्धको कार्य–कारण सम्बन्धको नियम मार्क्स–लाप्लासले भने जस्तो बुद्धि, तर्क र गणितबाट जान्न सकिने विषय नै होइन ।

यो तपस्चर्याको प्रक्रियाबाट केवल अनुभूत गर्न सकिने विषय हो । जुन अनुभूति स्थूल र सूक्ष्ममा मात्र सीमित रहन्न, शून्यसम्म पुग्छ । यसरी बुद्धको कार्य–कारणको नियम मार्क्स–लाप्लासको नियमको ठिक विपरित छ । त्यसैले बुद्धलाई ‘द्वन्द्ववादी’ मान्नु केवल भ्रम हो ।

बुद्धलाई ‘द्वन्द्ववादी’ मान्नेहरूको अर्को भ्रम के छ भने, यिनीहरू केवल बुद्धलाई मात्र ‘द्वन्द्ववादी’ मान्दछन् । अन्य तपस्वीहरूलाई मान्दैनन् । यथार्थमा सबै तपस्वीहरूको विश्व–दृष्टिकोण एउटै हो ।

शिव, कृष्ण, महावीर, कविर, नानक, लाओत्से, जिजस, मोहम्मद, ओशो, सदगुरु लगायत जति पनि तपस्वीहरू छन् उनीहरू सबैले कार्य–कारणको सूक्ष्म नियमको व्याख्या गर्दछन् । तर यो मार्क्स–लाप्लासको जस्तो ‘वैज्ञानिक निर्धारणवाद’ मा आधारित छैन । यो त्योभन्दा धेरै सूक्ष्म र विपरित छ । त्यसैले कुनै पनि तपस्वीहरू ‘द्वन्द्ववादी’ होइनन् । बुद्ध ‘प्रथम द्वन्द्ववादी’ हुन् भन्ने कम्युनिस्टहरूको कुरा भ्रम मात्र हो ।

बुद्ध साम्यवादी हुन् भन्ने यिनीहरूको दोस्रो भ्रम हो । बुद्धले ‘संघम शरणम् गच्छामि’ भनेको हुनाले यिनीहरूले बुद्धलाई ‘साम्यवादी’ भनिदिए । यथार्थमा बुद्ध ‘नीतिशास्त्री’ नै होइनन् । त्यसैले उनलाई साम्यवादसँग जोड्नु पनि भ्रम नै हो ।

मार्क्सको ‘साम्यवाद’ र बुद्धको ‘संघ’ एउटै हुँदै होइन । मार्क्सको साम्यवादको उद्देश्य भौतिक सुख हासिल गर्नु हो । भौतिक सुख हासिल भएपछि मनुष्यका अन्य समस्या आफैं समाधान भएर जान्छन् भन्ने मार्क्सको बुझाइ हो । त्यसैले माक्र्स ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा फड्को हान्ने’ कुरा गर्दछन् ।

तर बुद्धको ‘संघ’ को उद्देश्य आत्मिक सुख (निर्वाण) हासिल गर्नु हो । बुद्ध, आवश्यकता र स्वतन्त्रता, भौतिक सुख र आत्मिक सुखबीच विभाजन रेखा कोर्दैनन् । अर्थात् बुद्धको दृष्टिमा आवश्यकता र स्वतन्त्रता परिपूरक छन् र सँगसँगै यात्रा गर्दछन् । त्यसैले उनले ‘संयक् दृष्टि’ देखि ‘संयक् समाधि’ सम्मको कार्यक्रम बनाएका छन् । यसबाट स्पष्ट हुन्छ, बुद्ध ‘साम्यवादी’ हुन् भन्नु पनि भ्रम नै हो ।

बीपी र बुद्ध

गौतम बुद्ध र बीपी कोइराला बीच पनि तुलना हुन सक्दैन । कारण, बीपी राजनीतिकर्मी र साहित्यकारसम्म हुन्, बुद्धत्व प्राप्त गरेका व्यक्ति होइनन् । तर बीपीका अनुयायीहरू बीपीलाई ‘महामानव’ भन्छन् ।

बीपी र बुद्धबीच वैचारिक साइनो कोर्ने प्रयास गरी रहन्छन् । उनीहरू हरेक वर्षको बुद्धजयन्तीमा पनि सहभागी हुन्छन् । यही कारण यहाँ बीपी र बुद्धलाई जोडेर चर्चा गर्नु परेको हो ।

बुद्धले ‘व्यक्ति’ मा ध्यान केन्द्रित गरेको हुनाले बीपीका अनुयायीहरूलाई यो भ्रम पर्‍यो कि बुद्ध त उदारवादी (व्यक्तिवादी) रहेछन् । यसकारण उनीहरूले बुद्धमतलाई ‘उदारवाद’ सँग तुलना गरिदिए । यथार्थमा उदारवादीहरूले वकालत गर्ने ‘व्यक्तिवाद’ र बुद्धमतबीच कुनै साइनो सम्बन्ध छैन ।

उदारवादीहरू ‘व्यक्ति’ को अहंकारको भरणपोषण गर्दछन् । तर बुद्ध ‘व्यक्ति’ को अहंकारलाई भष्म पारेर व्यक्तिलाई शून्य (निर्वाण) मा पुर्‍याउन चाहन्छन् । उदारवादीहरूको चिन्तन पद्धतिमा ‘व्यक्ति’ आधारभूत तत्व हो, बुद्धको दृष्टिमा ‘व्यक्ति’ अयथार्थ हो, जुन हाम्रा इन्द्रियको प्रक्षेपण मात्र हो । यस अर्थमा बुद्ध मत र उदारवादबीच कुनै साइनो छैन ।

बीपीका अनुयायीहरूको दोस्रो भ्रम यो छ कि उनीहरू बुद्धलाई ‘शान्तिका दूत’ मान्दछन् । यथार्थमा बुद्ध शान्तिका दूत पनि होइनन् । बुद्ध ‘समाज’ लाई तात्विक इकाई नै मान्दैनन् । जब व्यक्तिलाई तपश्चर्याका माध्यमबाट ‘शून्य सत्य’ बोध हुन्छ, तब मानसिक शान्ति आउँछ, यही मानसिक शान्ति नै सामाजिक शान्तिको आधारभूत शर्त हो भन्ने बुद्धको मूलभूत मान्यता हो । यो शान्ति सम्बन्धी उदारवादी धारणा भन्दा विल्कुलै फरक छ । यसकारण बुद्धलाई शान्तिका दूत भन्ने उदारवादीहरूको भनाइको पनि कुनै तूक छैन ।नेपालले बुद्धलाई ‘पैसा कमाउने हतियार’ होइन, ‘जीवन बनाउने अमृत’ को रूपमा ग्रहण गर्न, सोही अनुसारको चिन्तन र योजनामा काम गर्न सक्नुपर्छ ।

चिन्तनको क्षेत्रमा बीपीको कुरा बुद्धसँग होइन, मार्क्ससँग मिल्छ । बीपी पनि मार्क्स जस्तै भौतिकवादी हुन् । उनले आफू नास्तिक भएकोमा गर्व गरे । राजनीतिक विचारधारामा पनि बीपी र मार्क्सको कुरा मिल्छ ।

मानिसको भौतिक आवश्यकता पूरा भएपछि बाँकी समस्या आफैं समाधान भएर जान्छन् भन्ने मान्यता बीपीको पनि हो । उनको प्रजातान्त्रिक समाजवादी विचारधारा मूलतः भौतिकवादी मूल्यमान्यतामै आधारित छ । जसको बुद्धमतसँग कुनै साइनो सम्बन्ध छैन ।

यो बाहेक बीपीको साहित्यिक चिन्तन बुद्धबाट होइन, फ्रायडबाट प्रभावित छ । तत्कालीन युरोपका लागि फ्रायड क्रान्तिकारी व्यक्ति नै हुन् । अस्पतालमा मानसिक रोगलाई स्वायत्तता दिन आवश्यक नठान्ने बायोमेडिकल मोडेल विरुद्ध फ्रायडले नै क्रान्ति गरेका थिए । उनकै पहलमा मन र मानसिक रोगलाई अलग विधा मान्ने चिन्तन र पद्धति सुरुवात भयो ।

दोस्रो, मनका पनि तीन तह (चेतन, अर्धचेतन र अचेतन) हुन्छन् भन्ने तथ्य युरोपेली समाजलाई बताइदिने पात्र पनि फ्रायड नै हुन् । यौन (ऊर्जा) नै जीवनको आधारभूत स्रोत हो, यौन र मन अन्तरसम्बन्धित हुन्छ भन्ने तथ्य पनि फ्रायडले नै स्थापित गरेका हुन् ।

बीपीले आफ्ना साहित्यिक कृतिमा फ्रायडकृत मान्यतालाई निकै कलात्मक ढंगले प्रस्तुत गरेका छन् । तर यही कारणले बीपी र बुद्धबीच साइनो जोडिंदैन । कारण, फ्रायड र बुद्धबीच कुनै साइनो छैन । फ्रायड र बुद्धको चिन्तनको पाराडाइम नै अलग हो ।

फ्रायडको पाराडाइम यान्त्रिक हो । बुद्धको पाराडाइम जैविक हो । फ्रायड मनमै सीमित छन् । बुद्ध मनोशरीर भन्दा पर निर्वाण र शून्यसम्मको कुरा गर्दछन् । यसको अर्थ हो कि बीपीको फ्रायडवादी साहित्य र बुद्धमतबीच पनि कुनै साइनो सम्बन्ध छैन ।

आस्तिक कि नास्तिक ?

बुद्धले धर्मको कुरा गरे । पूर्वजन्म र पुनर्जन्मको कुरा गरे । गुरु–शिष्य परम्पराको कुरा गरे । दीक्षा, दान र निर्वाणको कुरा गरे । यस आधारमा ईश्वरवादीहरूले बुद्धलाई आस्तिक भनिदिए ।

अर्कोतिर उनै बुद्धले ईश्वर, आत्मा, परमात्मा, स्वर्ग, नर्क जस्ता धारणाको खण्डन गरे । उनले वैदिक वर्ण व्यवस्था र कर्मकाण्डको पनि विरोध गरे । यही कुरालाई हेरेर भौतिकवादीहरूले बुद्धलाई नास्तिक (भौतिकवादी) भनिदिए ।

बौद्ध ज्ञानका अगाडि यस्तो विभाजनको कुनै अर्थ छैन । बुद्ध यो ‘संसार’ र ‘व्यक्ति’ लाई नै शाश्वत मान्दैनन् । उनको विचारमा ‘व्यक्ति’ र ‘संसार’ को स्वतन्त्र अस्तित्व नै छैन । यो त हाम्रा इन्द्रियहरूको प्रक्षेपण मात्र हो ।

यो ‘अविद्या’ हो । व्यक्ति वा संसारको अत्यन्तिक स्वभाव ‘शून्य’ छ, ‘अनिर्वचनीय’ छ । जसलाई भाषामा व्यक्त गर्न सकिन्न । यो हाम्रा तर्क र बुद्धिभित्र अटाउने विषय नै होइन । केवल अनुभूतिको विषय हो ।

बुद्धको यो कुराले ईश्वरवाद र भौतिकवाद दुवैको एकैचोटि खण्डन गर्दछ । जब संसार नै शाश्वत छैन भने ‘सृष्टिकर्ता ईश्वर’ को धारणा त खण्डित भयो नै, ‘भौतिक तत्व नै शाश्वत हो’ भन्ने भौतिकवादी धारणा पनि खण्डित भयो । वास्तविकतामा बुद्ध आस्तिकता र नास्तिकताको बुद्धिविलास भन्दा माथि थिए ।

बुद्ध र राजनीति

दक्षिण एशियामा हिन्दु र बौद्ध, दुवैका नाममा राजनीति चलिरहेको छ । तर आजसम्मको इतिहास हेर्दा राजनीतिकर्मीहरू केवल तपस्वीहरूको नाम भजाउने काममै सीमित छन् ।

परिणामतः हिन्दु होस् वा बौद्ध, दुवैखाले राज्य र समूह यतिबेला साम्प्रदायिक चरित्रमा भ्रष्टीकरण भएका छन् । हिन्दु साम्प्रदायिक राजनीतिको उदाहरण भारत नै हो । म्यानमार, श्रीलंका, भुटान, थाइल्याण्ड, बौद्ध साम्प्रदायिकताका उदाहरण हुन् ।

तपस्वी मार्गदर्शन राजनीतिका लागि अति जरूरी छ । तपस्वी तत्वज्ञानलाई राजनीतिको मार्गदर्शक बनाउँदा मात्र आजको वैश्विक संकट समाधान हुनसक्छ । तर यसका लागि बुद्ध जयन्ती वा कृष्णाष्टमी जस्ता समारोहमा देखाइने ओठेभक्ति मात्र पर्याप्त हुँदैन ।

तीर्थस्थलहरूमा भौतिक संरचना बनाएर मात्र पनि कर्तव्य पूरा हुँदैन । हामीले चिन्तनको फरक पाराडाइममा प्रवेश गर्नै पर्दछ । स्वयं भित्र तपस्वीका तत्वज्ञानको बोध जगाउन सक्नुपर्छ । यही बोधले मात्र नयाँ राजनीतिक मार्गदर्शनका लागि काम गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्